स्वावलम्बन जीवन पद्धतिको दर्शन
स्वावलम्बन जीवन पद्धतिको दर्शन परम्परागत चिकित्सकीय पुर्नःस्थापना सेवा प्रवाह ढाँचाको वैकल्पिक अवधारणा हो । यसले अपाङ्गता भएका व्यक्तिहरुको स्व–निर्देशित सोंचलाई प्रबर्दन तथा प्रेरित गर्दछ, जसलेगर्दा उनीहरु अरुनागरिक सरह समान रुपमा आवश्यकीय सामुदायिक सेवा माथि पहुँच राख्ने तथा सो का लागि सौदावाजी गर्न सक्षम हुन्छन् । स्वावलम्बन जीवन पद्धतिको दर्शनले अपाङ्गता भएका व्यक्तिहरुको व्यक्तिगत अधिकारलाई स्वीकार गर्दै आफ्ना लागि आँफै निर्णय लिन्छन तथा सम्भावित जोखिमहरु लिन्छन् भन्ने मान्यता राख्दछ । यसखाले अधिकार तथा कर्तव्यहरुमार्फत प्रत्येक व्यक्तिले आफ्नो आत्मसम्मान कायम राख्ने अवसरहरु प्राप्त गर्दछन् ।
परम्परागत चिकित्सकीय ढाँचाले स्वास्थ्यकर्मीहरु अपाङ्गताको सवालमा पनि विज्ञ हुन्छन् भन्ने मान्यता राख्दछ । साथै स्वास्थ्यकर्मीहरुले पनि अपाङ्गता भएका व्यक्तिहरु कमजोर तथा अज्ञानी हुनाका साथै आफ्नो जिवनमाथि आँफैं नियन्त्रण लिन नसक्ने भएकाले हामी आँफैंले उनीहरुका लागि गरिदिनुपर्दछ भन्ने दृष्टिकोण राख्दछन् ।
तर ठीक विपरीत स्वावलम्बन जीवन पद्धतिको अवधारणाले भने अपाङ्गता भएका व्यक्तिहरुले सक्छन्, गर्छन् र आवश्यक कदम चाल्छन् भन्ने मान्यता राख्दछ । स्वावलम्बन जीवन पद्धतिको अभियानले उनीहरुको सामाजिक र राजनैतिक शक्तिलाई अगुवाई गर्नका लागि स्व सशक्तिकरण तथा स्वावलम्बी बनाउन सहयोग गर्दछ । अपाङ्गता भएका व्यक्तिहरुलाई समाजमा पूर्ण सहभागी गराउँदै निकै प्रगतिकासाथ यो अभियान अघि बढ्नुमा उनीहरुलाई सवलीकरण तथा उत्प्रेरित गरिनुले महत्वपुर्ण भुमिका खेलेको पाईएको छ । यो कुरा सामाजिक र राजनैतिक समावेशीकरण तथा मानव अधिकारका सवालहरुसँग मिल्नु तथा लाञ्छना जस्ता सामाजिक तथा वातावरणीय अवरोधहरु हटाउनु, शिक्षामा पहुँच बनाउनु, दीर्घकालीन गरिवी तथा अल्परोजगारी/न्युन रोजगारी हटाउनका लागि सहयोग गर्दछ ।
स्वावलम्बन जीवन पद्धतिको ढाँचाले आफ्नो छनौट, स्व व्यवस्थापन, सीप सिकाईका साथै सरकारी सहयोग प्रतिको परनिर्भरता घटाई उनीहरुको सवलीकरण गर्ने आर्थिक अवसरहरु प्रदान गर्दछ । जसले गर्दा उनीहरु समाजका लागि आर्थिक, सामाजिक, राजनैतिक, आध्यात्मिक तथा साँस्कृतिक योगदान गर्न सक्षम हुन्छन् ।