सहायक सेवा, सामग्री तथा प्रविधिहरु

3 peresons in wheelchair infront of a temple

अपाङ्गता क्षेत्रको नेतृत्वदायी संस्थाको रुपमा सीआईएल काठमाडौं क्षमता अभिबृद्धि, अध्ययन अनुसन्धान, नवीनतम अभ्यास, सहायक सामाग्री तथा सेवाको उत्पादनहरुमा संलग्न छ, जसले अपाङ्गता भएका व्यक्तिहरुको जीवनयापनलाई सजिलो बनाउँदछ ।

सीआईएल काठमाडौंले ह्वीलचियर, वैशाखी, सेतो छडि तथा कृत्रिम अङ्गहरु काभ्रे धुलिखेलस्थित काठमाडौ विश्वविद्यालयको प्राविधिक तालिम केन्द्र मातहत रहेको कारखाना मार्फत उत्पादन गर्दै आएको छ । उक्त कारखानामा अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोग गर्नका लागि विशेषगरि कार्यात्मक तथा प्रयोगकर्तामैत्री विधिहरु प्रयोग गरेर उत्पादन गरिन्छ ।

सहायक सामाग्रीहरुमा नवीनतमता तथा आधुनिकीकरणको आवश्यकता रहेको सोंचले सीआईएललाई अनुसन्धान, नयाँ प्रविधि तथा अवधारणाहरु अनुसरणमा लगानी गर्न प्रेरित गरेको छ, जसले गर्दा अपाङ्गता भएका व्यक्तिहरुलाई उपयुक्त सहयोगको सुनिश्चितता होस ।

ह्वीलचियर उत्पादन

नेपालमा अपाङ्गता भएका व्यक्तिहरुका लागि अन्तर्राष्ट्रिय तथा राष्ट्रिय संघसंस्थाहरुबाट ह्वीलचियर दानदातव्यको रुपमा प्राप्त हुनु नौलो कुरा छैन । यस किसिमका उदारतालाई कदर तथा प्रशंसा गरिएको भएपनि सीआईएल अधिकारमुखी अवधारणालाई अँगाल्दै आवश्यकताको आधारमा ह्वीलचियर वितरण हुनु पर्छ न कि दानदातव्य भन्नेमा विश्वास राख्दछ ।

धेरै अवस्थाहरुमा आवश्यकता विना नै वा शारीरिक लेखाजोखा नगरिकनै ह्वीलचियर वितरण गरिएको पाईन्छ, जुन अपाङ्गताको प्रकृतिअनुसार अमिल्दो तथा असुहाउँदो देखिन्छ । नेपाली समाजमा व्याप्त यस्ता खालका कल्याणकारी अवधारणाहरुले गर्दा उनीहरुलाई जे दिईन्छ त्यही स्वीकार्नु पर्ने लाचारीको स्थिति विद्यमान छ, जसले नकारात्मक प्रभावलाई मलजल गरिरहेको पाईन्छ । जस्तैः पहाडी क्षेत्रमा ह्वीलचियर वितरण गर्दा पर्याप्त व्रेक नभएको ह्वीलचियर पर्नसक्छ, जुन सुरक्षाको हिसाबले खतरा हुनसक्छ ।

नेपालमा धेरै कम संस्थाहरु छन्, जसले अपाङ्गताको प्रकृतिमैत्री ह्वीलचियर तथा सहायक सामाग्रीहरु वितरण गर्दछन् । सँगसँगै सीआईएलले नेपालमा सरकारसँग नेपालभित्र उत्पादित ह्वीलचियरहरुको दायित्व ग्रहणगर्नका लागि पैरवी समेत गर्दछ ।

नेपालमा ह्वीलचियर उत्पादनमा संभाव्य ठुलो लगानी र आवश्यक जनशक्ति चाहिनुका बाबजुद पनि सन् २०१२ मा सीआईएल काठमाडौंले महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयको आर्थिक सहयोग तथा स्थानीय उपलब्ध ह्वीलचियर प्राविधिकहरुको सहयोग लिएर २७ नमुना आल्मुनियम ह्वीलचियर सफलतापुर्वक उत्पादन गरेको थियो । यसले सरकार, अन्य सरोकारवाला तथा कम्पनीहरुलाई ह्वीलचियर उत्पादनमा लगानी गर्न प्रेरित गरेको र ह्वीलचियर आवश्यक पर्ने अपाङ्गता भएका व्यक्तिहरुमा आशा जगाएको छ ।

नेपालमा यस्ता ह्वीलचियरहरुको ठुलो परिमाणमा उत्पादन प्रबर्दनका लागि सीआईएल काठमाडौं विश्वविद्यालय धुलिखेलको ईन्जिनियरिङ्ग विभागसँग सहकार्य गर्दै आईरहेको छ । नेपालका विभिन्न भागहरुमा रहेका शारीरिक अपाङ्गतालाई मुख्य ध्यानमा राखी सुदृढ टेलर्ड अवधारणा अनुसार ह्वीलचियर उत्पादन गर्ने गरिएको छ ।