नेपालमा बनेका ह्वीलचियर वितरण कार्यक्रम सम्पन्न

Published on: February 3, 2020

Group photo of wheelchair distribution program

माघ २०, २०७६ ।

अपांगता भएका व्यक्तिहरूका लागि स्वाबलम्बन जीवनपद्धति केन्द्र, काठमाडौको आयोजनामा आज नेपालमा बनाएको आल्मुनियमको ह्वीलचियर वितरण कार्यक्रम सम्पन्न भएको छ । नेपाल बंगलादेश बैंकको आर्थिक सहयोगमा १० वटा ह्वीलचियर निर्माण भइ एक समारोहका बीच वितरण भएको हो ।

ह्वीलिचयर निर्माण कार्यका लागि विगतका केही बर्षहरूमा महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय आर्थिक सहयोग प्राप्त गरिरहेको र संघीयताको नयाँ ढाँचामा गएपछि मन्त्रालयबाट बजेट कटौटी हुँदा बजेट अभावमा २ बर्षदेखि ह्वीलिचयर निर्माण कार्य अगाडि बढाउन कठिन भएको अवस्थामा नीजि क्षेत्रबाट सहयोग गर्ने नेपाल बंगलदेश बैंक पहिलो भएको थियो । विदेशबाट ल्याइएका फलामका गह्रुंगो ह्वीलिचयर सट्टामा बैंकको सहयोगबाट १० जना अपांगता भएका व्यक्तिहरूले नेपालमै बनेको, हलुका (१०-११ किलो तौल भएका) र भविष्यमा मर्मत समेत गर्न मिल्ने ह्वीलिचयर प्राप्त गर्दा निकै खुशी देखिएका थिए ।

संस्थाका अध्यक्ष टेकबहादुर गुरूङको अध्यक्षतामा महासचिव गणेश के.सी.ले सञ्चालन गर्नु भएको उक्त ह्वीलचियर वितरण कार्यक्रममा नेपाल बंगलादेश बैंकका नायव प्रमुख कार्यकारी अधिकृत श्री सुरेन्द्रभूषण श्रेष्ठले ह्वीलिचयर वितरण गर्दै आफ्नो मन्तव्यमा बैंकले आफ्नो सामाजिक दायीत्व अन्तर्गत सहयोग भएको र आगामी दिनमा यस्ता सहयोगहरू अपांगता भएका व्यक्तिहरूबीच अझ बढी लैजाने कुरा बताउनु भयो ।

उक्त समारोहमा बालाजु स्कूल अफ इन्जिनियरिङका सहायक प्रिन्सिपल शंकरमान श्रेष्ठले आफ्नो मन्तव्यमा यस संस्थाको अनुरोधलाइ स्वीकार्दै वर्कशप स्थापनामा सहयोग गरेको र वर्कशपबाट ह्वीलचियर उत्पादन भइ आज भएको ह्वीलचियर वितरण समारोहले खुशी ल्याएको र आगामी दिनमा ह्वीलचियर उत्पादन कार्यलाइ अझ बढी सहयोग गर्ने बताउनु भयो ।

बालाजु स्कूल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजी र इन्फिनिटी ल्याबसँग सहकार्य गरी यस संस्थाले महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयको आर्थिक सहयोगमा बालाजु स्कूल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजीको हाता भित्र ह्वीलचियर निर्माण वर्कशप स्थापना भएको छ । उक्त वर्कशपमा अपांगता भएका व्यक्तिहरूका लागि ह्वीलिचयर लगायत अन्य आवश्यक सहायक सामाग्रीको अध्ययन, अनुसन्धान तथा उत्पादन कार्य भइ रहेको छ ।

यस संस्थाले विगत लामो समय देखि आल्मुनियमका ह्वीलचियर नेपालमा बनाउनका लागि प्रयासरत रहि हालसम्म लगभग २०० वटा बनाइ निःशुल्क वितरण गरिसकेको छ ।